११४६ ञँलाथ्व द्वितीया (२०८३ भदौ २८ गते) आइतबार जनकवि दुर्गालाल श्रेष्ठको सम्झनामा एक विचार गोष्ठी आयोजना गरिएको छ। काठमाडौँमा आइतबार नेवाः देय् दबू, नेपालभाषा मंकाः खलः, नेपालभाषा एकेडेमी, नेपालभाषा मिसा खलः, विराट नेपालभाषा गुठी, लिपि गुठी, नेवाः पत्रकार दबूलगायत विभिन्न संघ-संस्थाहरूको संयुक्त आयोजनामा उक्त विचार गोष्ठी गरिएको हो। नेवाः देय् दबूकी अध्यक्ष रश्मिला प्रजापतिको अध्यक्षतामा सम्पन्न विचार गोष्ठीमा नेपालभाषा एकेडेमीका चान्सलर तथा नेवार अगुवा मल्ल के. सुन्दरले जनकवि श्रेष्ठका बारेमा गहिरो मन्तव्य व्यक्त गर्नुभयो। उहाँले जनकवि श्रेष्ठ नेपालका एक सच्चा कवि भएको र जीवनको अन्तिम समयमा पनि कविता नै लेखेर विलीन भएको कुरा व्यक्त गर्नुभयो। चान्सलर मल्लले जनकवि श्रेष्ठ साहित्यको कविता विधामा मात्र नभई गीत, नाटक र सम्पूर्ण विधामा पूर्णता भएका व्यक्तित्व भएको उल्लेख गर्दै उहाँको योगदान र जीवनीबारे आफ्नो विचार व्यक्त गर्नुभयो।
विचार गोष्ठी कार्यक्रममा जनकवि श्रेष्ठका जेठा छोरा सुमन श्रेष्ठले आफ्ना बुबा दुर्गालाल श्रेष्ठलाई सबैले सम्झिएर माया गरिदिएकोमा धन्यवाद ज्ञापन गर्दै दुर्गालाल श्रेष्ठले लेख्नुभएको खस भाषाको ‘मृत्यु’ सम्बन्धी अप्रकाशित कविता पनि वाचन गरेर सुनाउनुभएको थियो। गोष्ठीमा विभिन्न कलाकारहरूले जनकवि श्रेष्ठद्वारा रचित ‘झी झीगु निम्तिं मखूसां नेपाःया नितिं म्वायेमाः…’ (हामी हाम्रा लागि होइन नेपालका लागि बाँच्नुपर्छ…) लगायतका विभिन्न गीतहरू गाएर सुनाएका थिए भने कवयित्री प्रतिसरा सायमि र लोककवि राजभाई जकःमिले कविता प्रस्तुत गर्नुभएको थियो। उक्त कार्यक्रममा जनकवि दुर्गालालको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो भने आयोजक पक्षका तर्फबाट जनकवि दुर्गालालको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो। विचार गोष्ठीमा नेपालभाषा क्षेत्रका विभिन्न आदरणीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने उहाँहरूका तर्फबाट पनि जनकवि श्रेष्ठको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।